मंसिर ११,
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व विहिबार मनाईएको छ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गरेका छन् ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले यस दिन एकादशीलाई हरिबोधिनी एकादशी पनि भनिएको हो । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।
यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिएको छ ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
यस दिन पूर्वी नवलपरसीको त्रिवेणी धाम , पिठौली , गुन्द्रही , ढकाहा स्थानमा विशेष मेला लाग्दछ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मेला लागेको थिएन ।

COMMENTS