२५ मंसिर, नवलपुर ।
पूर्वी नवलपरासीको हुप्सेकोटमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउँपालिका–४ शंखदेवकी ७५ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त ती महिलालाई मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका क्रममा मंसिर १६ गते कोरोना पुष्टि भएको थियो ।
सापकोटाका अनुसार उनलाई केही दिनअघि मात्र अस्पतालबाट ल्याइएकोमा घरमै मृत्यु भएको हो । हुप्सेकोटमा कोरोना संक्रमणका कारणले मृत्यु भएको यो पहिलो घटना हो ।
पूर्वी नवलपरासीमा बिहीबारसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
जिल्लामा २ हजार २ सय जना कोरोना संक्रमित भइसकेका छन् ।
COMMENTS