२७ मंसिर, परासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले नियम विपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ ।
त्यसरी अनुमति दिएर अवैध रुपमा उत्खनन् गर्न दिइएको नदीजन्य पदार्थ नगरप्रमुख गुप्ताको आफ्नै इट्टा उद्योगको प्रयोगका लागि पाईएको हो ।
रामग्राम नगरपालिका–१ सण्डामा सञ्चालनमा रहेको शिव शंकर इट्टा उद्योगको नाममा ५ हजार घनफिट (५० टेक्टर) भस्कट ( माटो र बालुवा मिसिएको पाँगो) खोलाबाट निकासी गर्न अनुमति दिएका हुन् ।
ढुंगा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थपन सम्बन्धी मापदण्ड २०७७ विपरीत गुप्ताले ठेक्का नै नगलागेको रामग्राम–१ सण्डास्थित झरही खोलाबाट २० दिनसम्म ३ वटा टेक्टरबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति दिएका हुन् ।

नगरप्रमुख गुप्ताले नगरपालिकाको लेटर प्याडमा हस्ताक्षर गरी मंसिर १० देखि ३० गतेसम्म निकासीका लागि अनुमति दिइएका टेक्टरले दैनिक २० देखि २५ टाली भन्दाबढी नदीजन्य पदार्थ उद्योगमा पु¥याउने गरेको स्थानीयले बताएका छन् ।
काँचो इट्टाका लागि भस्कट प्रयोग गर्ने गरिन्छ । उद्योगलाई अनुमति दिएका मेयर गुप्ताले भने स्थानीयलाई नदीजन्य पदार्थ निकासीका लागि अनुमति माग्न जाँदा दिन नमिल्ने भन्दै फकाई दिने गरेको स्थानीय बृजेन्द्र कुमार गुप्ताले बताए ।
‘गाउँमा घर बनाएकाहरुले जग पुर्नका लागि भस्कट माग्दा नियमले मिल्दैन भन्दै नगरप्रमुखले फर्काउने गरेका छन् । आफ्नो उद्योगमा भने दैनिक रुपमा टेक्टरले बोकी रहेका छन् । ’ बृजेन्द्रले भने ।
नगर क्षेत्रमा ३ वटा खोला छन् । बञ्जरियास्थित तुरिया खोला बाहेक झरही र भलुही खोलाको ठेक्का नलागेको नगरपालिकाले जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन्का लागि कसैलाई पनि अनुमति दिने भनेर कार्यपालिकाबाट समेत निर्णय नभएको अनुगमन समितिका संयोजक एंव उपप्रमुख रम्भा कुँवरले बताईन् ।
जिल्ला अनुगमन समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले स्थानीय तह आफंैले त्यसरी नदीजन्य पदार्थ निकासीका लागि अनुमति दिन नमिल्ने बताए ।
‘ ढुंगा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थपन सम्बन्धी मापदण्ड २०७७ अनुसार आफूखुसी स्थानीय तहले अनुमति दिन मिल्दैन । त्यो सरासर नियम विपरीत हो ।
नदीका कारण विपद् निम्तीन सक्ने भए जिल्ला अनुगमन समितिको बैठकले निर्णय गरेर दिन सकिन्छ । जिल्लामा कुनै पनि तहलाई त्यसरी अनुमति दिइएको छैन । ’ जिसस प्रमुख रायले भने ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले नगरप्रमुखको अनुमतिले नदीजन्य पदार्थ उत्खनन् गर्न नपाईने बताए । नियम विपरीत त्यसरी उत्खनन् गर्ने टेक्टरलाई प्रहरी पठाएर पक्राउ गरी कारबाही प्रकृया अघि बढाउने उनले बताए ।
COMMENTS