२७ मंसिर, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद तल्लो तहसम्म आइपुगेको छ ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय र जिल्ला स्तरका भेला तथा शक्ति प्रदर्शनलाई तीव्र बनाएका छन् ।
शनिबार ओली पक्षले मोरङमा शक्ति प्रदर्शनसहित युवाहरुको भेला गरेको छ । विराटचोकमा भएको भेलालाई पूर्वमन्त्री गोकुल बास्कोटाले सम्बोधन गरेका थिए । भेलाअघि मोटरसाइकल र्याली निकालिएको थियो ।
गत सोमबार विराटनगरमा प्रदेशस्तरीय विद्यार्थी भेला आयोजना गरेको थियो, जसलाई प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बोधन गरेका थिए ।
नेपाल र प्रचण्ड पक्षले भने झापाको दमकमा विद्यार्थीको प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको गृह नगरमा आयोजना आइतबार गरिने भेलालाई विद्यार्थीका केन्द्रीय नेतृत्व र प्रदेशका एक मन्त्रीले सम्बोधन गर्नेछन् ।
ओली पक्षको भेला गोप्य भएपनि नेपाल र प्रचण्ड पक्षको कार्यत्रलम खुला हुने अनेरास्वीयूका केन्द्रीय सचिव वसिम आलमले बताए । ‘उहाँहरु गोप्य भेला गर्दै हिँड्नुहुन्छ । हामी खुला रुपमा केन्द्रीय नेतृत्वलाई दबाब दिन चाहान्छौं’ उनले भने, ‘हाम्रो भेलाको एउटै उदेश्य एकताप्रति केन्द्रीय नेतृत्वलाई दबाब दिनु हो ।’
यस्तै मंगलबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी छ । विराटनगरमा विद्यार्थी र युवाहरुको जिल्ला स्तरीय भेला आयोजनाको तयारी गरेको हो ।
COMMENTS