४ पुस, काठमाडौँ ।
पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको दूरी घटाउने प्रयास गरेका छन् ।
प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमै उपस्थित नहुने अडान लिंदै आएका ओली प्रचण्डलाई भेट्न शनिबार उनकै निवास खुमलटार पुगेका थिए । यसअघि छलफलको लागि प्रचण्डलाई बालुवाटार बोलाउने ओली प्रचण्डलाई भेट्नकै लागि पहिलोपटक खुमलटार पुग्दा नेकपाकै नेताहरु आश्चर्यचकित भएका छन् । झण्डै एक घण्टा भएको छलफलमा ओली र प्रचण्डसँगै पार्टी उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए ।
छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किए पनि यसले पार्टीभित्रको विवाद मिलाउन सकारात्मक भूमिका खेलेको नेकपा नेताहरुको भनाइ छ । यसअघि जस्तै शनिबारको भेटमा पनि ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिका साथ अघि बढ्न प्रचण्डसँग आग्रह गरेका छन् ।
ओलीको यो आग्रहलाई अस्वीकार गर्दै प्रचण्डले स्थायी कमिटी बैठकमै छलफल गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको अडान छ भने दुवै प्रस्ताव स्थायी कमिटी बैठकमै छलफल हुनुपर्ने प्रचण्ड–नेपाल पक्षको अडान छ ।

COMMENTS