१८ पुस, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रमा रातको समयमा यात्रामा रोक लगाएको छ।
पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल, मोटरसाइकल चलाउन र पैदल यात्रा गर्न रोक लगाएको हो।
हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्न अम्रेनी–कर्णाली चिसापानी सडक खण्डमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनु भयो ।
राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहन समेत निकुञ्जले अनुरोध गरेको छ।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत राजमार्गमा रातिको समयमा प्रायःजसो पाटेबाघ देखिने गरेको छ।
राति मात्रै होइन दिउँसोको समयमा पनि यस क्षेत्रमा बाघ देखिने गरेको यात्रुहरुले बताएका छन्।
COMMENTS