माघे सक्राति
प्रकृति पूजक कुमाल जातिले राष्ट्रिय पर्वको रूपमा माघे सक्राति मनाउनुको आफ्नै विशेषता र प्राकृतिक महत्त्व छ । खेतीबाली भित्रयाएपछि पुसमा पकाएर, माघमा खाने चलनको रूपमा प्रचलित छ । सूर्यनारायण पुस–माघदेखि उत्तरायण हुने कारणले प्रकृति पूजक जातिले नयाँ वर्ष शुरुवातको रूपमा मान्ने गर्दछन् ।
कुमाल जातीमा माघे सक्राति मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो कुमालहरूको राष्ट्रिय पर्वको रूपमा घोषणा भइसकेको छ। यो पर्व ठुलो सक्राति पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल, चामल, बेसार, घिउ मिसाइएको खिचडी खाने चलन छ। माघे सक्रातिको दिन घर–घरमा कुखुरा, सुँगुर काट्ने चलन छ ।
माघे सक्रातिलाइ कुमाल समुदायले कुलायन देवतालाई सम्झेर पितृ पुज्ने, छोरी कुटुम्बलाई घरमा बोलाएर पुज्ने प्रचलन छ। सक्रातिको बिहानै घरको मुलि खोलामा गएर नुहाउने र घरमा आइ पितृको नाममा पानी दिने र कुखुरा काटेर चामल र रगतमा मुछेको टीका लगाइदिने परम्परा छ। सुँगुरको मासु, माछा, सेल रोटी, फुलौरा, भाते जाँड, साथमा अन्य मिठामिठा परिकार, प्राकृतिक फल/कन्दमुल तरुल, पिडालु, सखरखण्ड लगायतका खानेकुराहरु खाने चलन छ। माघे सक्रातिमा हेम्फाइ नाच नाच्ने चलन पनि रहेको छ । कुमाल समुदायले माघे सक्रातिलाइ नयाँ वर्ष सुरुवातको रूपमा मनाउने गर्दछन् ।
COMMENTS