१८ माघ , काठमाडौँ ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकिएको छ ।
विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट हुने बहस आइतबार सकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सुरु भएको थियो ।
यस बहसमा ६३ जना अधिवक्ताले भाग लिएका पनि सूचना अधिकारी ढकालले जानकारी दिए ।
अब सर्वाेच्चमा सोमवार देखि रिटको विपक्ष अर्थात् प्रतिनिधि सभा विघटनको पक्षमा अधिवक्ताको बहस सुरु हुनेछ ।
यसमा महान्यायाधिवक्ता, प्रधानमन्त्री ओलीका कानुन व्यवसायी र सभामुख अग्नि सापकोटाको तर्फबाट समेत बहस हुनेछ ।
रिटको विपक्षमा झण्डै ७० जनाले बहस गर्ने पनि ढकालले बताए ।
रिटको पक्षमा अर्थात् प्रधानमन्त्रीको कदम संविधान विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापा, संविधानविद् चन्द्रकान्त ज्ञवाली, अधिवक्ता टीकाराम भट्टराई, ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका छन् ।
बहसमा सहभागी ६३ जना अधिवक्ताले पार्टीको विवाद मिलाउन नसकेर त्यसको रिस प्रधानमन्त्रीले प्रतिनिधि सभामाथि फेरेको आरोप लगाएका थिए ।
उनीहरूले संविधानले सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कल्पना पनि नगरेकाले प्रतिनिधि सभा पुनर्स्थापना हुनैपर्ने माग राख्दै आएका छन् ।

COMMENTS