२२ माघ , काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहले आह्वान गरेको नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
विवेकशील साझा पार्टीको अभियान विभागले बन्द/हड्तालको संस्कारविरुद्ध प्रदर्शन गरेको हो ।
विवेकशील साझा पार्टीले गएकाे १० वर्षदेखि कुनै पनि पार्टीले बन्दको आह्वान गर्दा त्यसकाे विरोध गर्दै आएको छ ।
विवेकशील साझाका अभियन्ताहरूले बन्दले देश बन्दैन, नेपाल खुला छ, गरि खान देऊ जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए ।
प्रदर्शनको क्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले भन्नुभयाे, विवेकशील साझा पार्टी आफ्ना राजनीतिक उपादेयताका लागि यस्ता कुसंस्कारगत आपराधिक अभ्यासको सहारा कहिल्यै लिने छैन, नागरिकको मौलिक हक, अधिकार सुरक्षण तथा सुसंस्कृत राजनीतिक अभ्यासका पक्षमा विवेकशील साझा आम नेपालीसँगै अग्रपङ्क्तिमा उभिनेछ ।
नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार र आम जनजीवन प्रतिकूल हुने गरि आह्वान हुने बन्द/हड्तालका अलोकतान्त्रिक अराजक कार्यक्रमहरूको विवेकशील साझाले प्रतिरोध गर्ने पार्टीका नेताहरूले बताए।
नागरिकलाई दुःख दिने बन्द/हड्दाल जस्ता अराजक कार्यमा साथ दिन नसकिने विवेकशील साझाले स्पष्ट पारेकाे छ ।
COMMENTS