एकसिंगे गैंडाको गणना आजबाट सुरु

Homeसमाज

एकसिंगे गैंडाको गणना आजबाट सुरु

ताप्लेजुङका अग्निपीडितको गृहमन्त्रीलाई ज्ञापन पत्र
प्रधानमन्त्रीद्धारा शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास
नेपालमा थप एक सय पाँच जना नयाँ संक्रमित


९ चैत , चितवन ।
दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजबाट सुरु हुँदै छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो ।
सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।
उक्त गणनाले त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा रहेको देखाएको थियो ।
गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन् ।
‘तीमध्ये चोरी सिकारीले मारेका गैंडा जम्मा ६ वटा छन् । १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन्,’ उनले भने ।
कुनै बेला चोरी सिकार गैंडा संरक्षणको प्रमुख चुनौती थियो । पछिल्ला वर्ष चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणले हुने मृत्यु चिन्ताजनक रूपमा बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा चोरी सिकारबाट हुने गैंडाको मृत्यु शून्य थियो । तर अन्य कारणले मर्ने गैंडा सबैभन्दा बढी ४३ वटासम्म पुगेको निकुञ्ज कार्यालयले जनाएको छ । खागका लागि तस्करले गैंडा मार्ने गर्छन् ।
चितवन निकुञ्जको पूर्वी क्षेत्र रमौली प्रतापपुरबाट आज बिहान गैंडा गणनाको सुरुवात भएको छ  । यसका लागि चितवन निकुञ्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ ।
‘एउटा ब्लकमा एक दिन गणना हुन्छ । ४० वटा हात्तीमा बसेका गणकहरूले प्रत्यक्ष नै गैंडा हेर्ने, उमेर, लिंग र अन्य शारीरिक अवस्थाको विवरण लिने गर्छन्,’ बरालले बताए ।
२२ देखि २५ दिनभित्र गैंडा गणना सकेर नतिजा सार्वजनिक गर्ने उनको भनाइ छ ।
गैंडा गणनामा दुई सय जनाजति कर्मचारी, प्राविधिक र पशु स्वास्थ्यकर्मीहरू जुट्नका छन्  ।
गैंडाको मुख्य बासस्थल चितवन निकुञ्ज भए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइन्छन् ।
पर्सा र चितवनमा आजबाट सुरु हुने गणना अन्य निकुञ्जमा केही दिनपछि सुरु हुँदै छ ।
चितवनबाट बर्दिया र शुक्लामा स्थानान्तरण गरेर गैंडा लगिएको छ ।
अघिल्लो गणनापछि बर्दिया निकुञ्जमा १० वटा र शुक्लाफाँटा निकुञ्जमा तीनवटा गैंडा चितवन निकुञ्जबाट लगिएको छ ।
अघिल्लो गणनापछि चितवनमा गैंडाको अवस्था प्रतिकूल हुँदै गएको आकलन संरक्षणकर्मीहरूले गरेका छन् ।
प्रमुख संरक्षण अधिकृत बरालका अनुसार गणनाका लागि अघिल्लो वर्ष नै सरकारले एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
कुनै बेला तीन वर्षको फरकमा र प्रायः पाँच वर्षको अन्तरालमा गैंडा गणना हुने गरेको छ । सबै तयारी पूरा भए पनि अघिल्लो वर्ष कोरोना महामारीका कारण अन्तिम समयमा गणना स्थगित भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0